२०७२ कार्तिक १० गतेको कार्यक्रम नमेटिने यादको शुरुवाती स्कृप्ट...

बल जफत मुटुलाई, फोड्नेहरु भेटिन्छन् ।
बेइमानीको खोल, ओड्नेहरु भेटिन्छन् ।।
बाँच्नु मात्रै पर्छ, अनेक देख्न पाइन्छ...
नयाँ समात्ने पुरानो, छोड्नेहरु भेटिन्छन् ।।


((स्वार्थी रैछौ सानु तिमी, तिम्ले बाटो मोड्यौ.....स्वर – अन्जु पन्त))


जिन्दगी सकिएको आफैले थाहा नपाइदो रहेछ, सम्बन्धहरु आफै बढारिदा रहेछन्, जिन्दगीमा धेरै साइनोहरु गाँसीए – कति उद्गम बिन्दुमा पुग्नै नपाई पटक्कै भाँचिए, कति इतिहास बनेर फोटोमा छापिए, कति सम्झना बनाएर मेमोरीमा राखिए । दिमागले झट्ट सम्झीयो फोटो, आखाँले झ्याप्प देख्यो मोबाइल, अनि त कौतुहलता भयो त्यही फोटो हेर्ने । बर्षौ अघि बिदाइ गरेका हातहरु अगाडी बढे, सानोमा लुकामारी खेलेजस्तै लुकेको फोटो खोज्न मोबाइल दाबिरहे । एकछिनको लामो प्रयास पछि भेटियो फोटो तर मोबाइलमा होइन फेसबुकमा । तिम्रा फोटोहरु आँखाले हेरेर कहिलै थानेनन् । सपनाहरु ति होइनन् जुन निदाउँदा आउँछन्, सपना त तिनी रहेछन् जसले निदाउनै दिदा रहेनछन् । तिम्रा फोटोहरुले मलाई आजभोली अजिब बनाउन थालेको छ, तिमीसँग हुन नसकेको प्रेम तिम्रा फोटोहरुसँग भएको छ । जिन्दगीमा धेरै मान्छेहरु आए, कति आएको छोटो समयमै गए, कतिले यही मुटुलाई अदालत बनाए, कतिले भाइरस बनेर सर्वस्व सकाएर गए, आएका सर्ब मान्छेले न माया देखाएर गए, न विश्वास देखाएर गए– न त अलिकति आश देखाएर गए, तिनीहरुले त मात्र एउटै कुरा देखाएर गए – सपना ।


ठिकै छ, कोही रमाउने बाहाना खोज्छन्, कोही कमाउने । कोही जिउने बाहाना खोज्छन्, कोही पिउने बाहाना खोज्छन्, सबैको जिबनशैली आफ्नै जस्तो हुनुपर्छ भन्ने छैन । जिन्दगी नै यस्तै छ, समयले जसको महत्व देख्छ उसैलाई नजिक ल्याएर जोडिदिदो रहेछ, जो आफुसँग जोडिन आइपुग्छ उसैसँग भावनात्मक रुपमा सम्बन्ध स्थापित गरिदिन्छौँ हामी, र त यस्ता सम्बन्धहरु टुट्दा केही चित्त दुख्दो रहेछ, पहिले स्कुल पढ्दा सँगै एउटै भाँडोमा खाएका, एउटै बेञ्चमा बर्षौ बिताएका साथीहरु पनि समयसँगै छुटेर जान्छन् । हामी कुनै समयमा एउटालाई बेस्ट फ्रेन्ड भन्छौ, त्यही बेस्ट फ्रेन्ड पनि समय अनुसार थपिदै अथवा एउटाको ठाउँ अर्कोले लिदै जान्छ । हामीसँग स्कुल पढ्दा, गाउँघरमा खेल्दा, कलेज पढ्दा, व्यापार व्यवसाय वा अन्य कुनै जागिर गर्दा समेत नयाँ नयाँ साथीहरु बनेर जान्छन् । ति साथीहरु हामीले चाहेर बनेका होइनन् ति त समय र आवश्यकताले जुराएका हुन्, तर सबै साथीहरु मध्ये आफ्नो जस्तै चाहाना नमिलेका केही साथीहरु भने आत्मिय बन्न सक्दैनन्.....


के को बाचा के को साइनो, टुटेरै जाने हो ।
जीवन आखिर सिसाजस्तै, फुटेरै जाने हो ।।
आफ्नो भन्नुस या उसलाई, पराई भन्नुस तँपाई...
भेटिएको मान्छे एकदिन, छुटेरै जाने हो ।।


((उपहार धोका दिने, तिम्रो बानी कस्तो...........................))


समय र जिन्दगीलाई कहिलै पनि छेकेर छेक्न नसकिदो रहेछ, हिजो आफ्नै छायाँ वरिपरि घुम्ने मान्छे कति छिटो महान भइसक्छ र दुनियाँको सर्वपरि आफैलाई सम्झन्छ अनि अरुलाई दमन गरिरहन्छ । हर प्राणी आफुलाई ठूलो र अरुलाई सानो बनाउन चाँहादो रहेछ ।

 

मैले एउटा कथा सुनेको थिएँ – एउटा कुखुराको भाले थियो । उसले सधै आफुभन्दा साना चल्ला र पोथीलाई हेप्ने गथ्र्यो, त्यतिमात्र होइन यसले अरुले खोजेको चारो पनि लखेटी लखेटी खोजेर खाइदिने गथ्र्यो । उसले आफुभन्दा साना कुखुरालाई हेप्नुको एउटै कारण थियो, उसले सोँच्ने गथ्र्यो कि हरेक दिन उज्यालो हुनुको कारण उ ‘कुखुरी काँ’ गरेर बास्ने गरेकोले हो । जब कुनै सानो कुखुराले उसले भनेको मान्दैनथ्यो तब उसले धम्क्याउदै भन्ने गथ्र्यो हेर, यदि तिमीहरु मैले भनेको मानेनौ भने म बास्नै छोडिदिन्छु, अनि त उज्यालो हुदैन, उज्यालो भएन भने तिमीहरु कसरी चारो खोजेर खान्छौ ? बिचरा कुखुराहरु उसको कुरा तुरन्तै विश्वास गर्थे अनी उसले जे भन्यो त्यही मान्थे, यसरी नै दिनहरु बितिरहेको थिए – तर उता भालेको ज्याजती भने खपी नसक्नुको थियो, उसको व्यवहारले आजित भएर केही कुखुराहरुले उसले भनेको नमान्ने निर्णय गरे, तर उनिहरुको बिद्रोही व्यवहार देखेर बाँकी कुखुराहरुले उनिहरुलाई हर तरहले सम्झाउने कोषिश गरे, ‘‘हेर हामीले ठूलो भालेको कुरा मान्नै पर्छ नत्र उ बास्दैन अनी उज्यालो हुदैन ।’’ उता ठूलो भाले भने केही कुखुराहरुको बिद्रोही व्यवहार देखेर नबास्ने निर्णय गरेर बसेको थियो ।


रातभर साना कुखुराहरुले उसलाई बासिदिनको लागि अनय बिनय गरे तर ठूलो भालेले ‘मेरो पावर कति छ, अब देखाइदिन्छु भन्दै कुनै पनि हालतमा नबास्ने निर्णय गर्यो । रात छिप्पिदै गयो–जे त होला भन्दै बाँकी कुखुराहरु पनि निदाए । तर आश्चर्य बिहान आँखा खोल्दा त भाले नबासे पनि उज्यालो भएछ । बल्ल त्यो दिनदेखि कुखुराहरुले थाहा पाए भाले नबासे पनि उज्यालो हुदो रहेछ, अब ठूलो भालेले जे भन्यो त्यो मानिरहनु परेन, त्यो दिनदेखि ठूलो भालेलाई कसैले टेर पुच्छर लाएनन् । यो कथाबाट प्रस्ट हुन्छ, कसैको साथविना कोहीपनि एक्लो हुदैन । यहाँ त्यही भालेको जस्तो व्यवहार पालेर धेरै मानिस बाँचिरहेछन्, उनीहरुलाई थाहा छैन म बिना पनि कोही बाँच्न सक्छ भनेर ..........


प्रेम गर्नु हुदैन भन्दै, ढोग्नेहरु भेटिए ।
कति मायालाई नजिकबाट, भोग्नेहरु भेटिए ।।
आ–इन्दा प्रेम गर्छस्, कि गर्दैनस् भन्दै...
कानका बुटी पनि, जोख्नेहरु भेटिए ।। 

 

((बिर्सु भन्छु तिमीलाई, याद आउँछ तिम्रो..............................))

मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter